ठूलो घरको आडमा सानो धन्सार

तर मेरो लागि यै ठूलो संसार


भकारीमा धान छ माथि कोठामा

तल्लो कोठा रमाउँछन् गाई गोठमा

बार्दलीमा बसेर पढ्न पाइन्छ

गर्मी हुँदा सितलु हावा खाइन्छ


डल्लेठ‍ो र डाला छन्, डाली यहीँ छन्

गर्दुवाका गाग्री र थाली यहीँ छन्

डोको, थुन्से थन्क्याउने सजिलो छ ठाउँ

सानो-सानो घरै हो धन्सार हो नाउँ


लसुन, प्याज, अदुवा बोराभरि छन्

धन्न मेरी आमाले सोचो गरिछन्

दिदी आउँछिन् निकाल्छिन् दुना-टपरी

हामी त्यसै आउँदैनौँ कामै नपरी


फलिका र मुढा छन् झिर्कामिर्का छन्

मैले खेल्ने पिङका घुर्रा-पिर्का छन्

सुन्नू आमा बैनीले के-के भनिछ ?

`पानी पर्दा जोगाउने स्याखु पनि छ´


`यसपालिको हिउँदमा गुन्द्री बुन्ने हो

घरमा छैन हतासो कसले सुन्ने हो ?´

पल्लो घरकी काकीले गर्दा गुनासो

धन्सार पसी बैनीले दिइन् हतासो


गहुँ, कोदो, मकैका थैला भरेर

राख्छिन् हाम्री बज्यैले जोहो गरेर

पानी खाने भुँड्को र घैँटो खोज्ने हो

धन्सारमा छ-छैन बालाई सोध्ने होे


भोलि धान कुट्ने हो बिस्कुन सुकाउँला

धन्सारबाट झिकेर मान्द्रो फुकाउँला

बाजेदेखि नातिलाई जे जे चाहिन्छ

धन्सारमै छ र पो खोज्दा पाइन्छ


काम गर्न पाउँदा रमाई हाल्छु म

भित्तामा छन् माकुरे जालो फाल्छु म

कुच्चो लिँदै बढार्न अघि सर्ने हो

घरलाई झैँ धन्सारलाई माया गर्ने हो ।

       - रमित ढुङ्गाना नुवाकोट