गाडी नम्बर ६३६९ ( बैशाख १, २०७२)

गाडी नम्बर ६३६९ ( बैशाख १, २०७२)

यो कथासँग सुरु भयो मेरो २०७२ साल ।


हिजो टिच फर नेपालका साथीहरुसँग सिन्धुपाल्चोकमा थिएँ । पानीको छालसँग बँह्दै, ठुलो चट्टानहरुसँग तर्कदै, डरलाई जित्दै हामी भोटेकोशी खोलामा रेफ्टिग खेल्यौँ । कोही पल्टिए, कोही अड्किए, कोही घाइते भए । जे जति भए पनि हामी सुरक्षित आइपुग्यौँ ।

सबै जना आफ्नो घरतिर लागे । मेरो मनले चितवन जान खोजिरहेको थियो । माइतीनेपालबाट कंलकीको गाडी चढेँ । चितवन जाने टिकट काउन्टरमा पुगे । नयाँ सालले गर्दा काठमाडौँबाट चितवन जाने माइक्रो थिएन । सबै भरिभराउ भएर निस्किसकेछन् । बल्लतल्ल रु ४०० तिरेर भैरहवा जाने गाडीको अन्तिम सिट पाएँ ।

८ बजे गाडी कंलकीबाट निस्कियो । मेरो छेउमा एक जना केटा थियो । त्यो मान्छेमा एक किसिमको उत्साह थियो । उसको चालचलनले मान्छेहरुसँग बोल्न खोजिरहेको बुझ्न सकिन्थयो ।

उसको नाम रिजन श्रेष्ठ हो । उ इमकुमार श्रेष्ठ र हिमकुमारी श्रेष्ठको एक मात्र सन्तान हो । उसको घर भैरहवा हो । घरमा आमा मात्र हुन्हुन्छ र सानो हुँदानै बुवाको दुर्घटनामा परेर ज्यान गएको उसले बतायो । २ वर्ष पछि घर जान लाएको कुरा उसल बतायो । बारम्बार, “आमा एक्लो हुनुहुन्छ, आमा एक्लो हुनुहुन्छ“ भनिरहेको थियो । सुरुमा अलिक पागल हो कि जस्तो लागीरहेको थियो । कसरी ४ घन्टा बिताउँने भनेर सोचिरहेको थिएँ । पहिले चुपचाप लागेर बसेँ, वास्ता नगरी झ्यालबाट बाहिर हेरेर बसेँ । त्यो मान्छे निकै छटपटिरहेको थियो । मलाई सार्है अप्ठ्यारो लागिरहेको थियो । थाकेर बोल्ने इच्छा नै थिएन ।

विजयले, “संसारमा सुनि दिने मान्छेको कमी छ ” भन्छ । हो कि जस्तो लाग्यो । मनमा तनाव भइरहेको थियो । आखिरमा विजयको भनाइलाई मनन गर्दै म उसँग कुरा गर्न थाले ।

रिजन काठमाडौमा सानोभर्याङ्मा आफ्नो ३ जना साथीहरुसँग बस्दो रहेछ । रिकेश उस्को मिल्ने साथी रहेछ । उसले रिकेशलाई आफ्नो घर लिएर जाने योजना बनाएको रहेछ । रिकेशको अहिले हनुमान डोकामा आफ्नो Girl Friend सँगको बिवादमा मुद्दा लडिरहेको रहेछ । केटी जेलमा थुनिरहेकी रहेछ । रिकेशले केटीको भाइ बनाएर रिजनलाई भेटन पठाएको रहेछ । अस्तिदेखि सँगै भैरहवा जाने योजना भएता पनि आज उ एक्लै जानु परेको कारणले उसलाई चित्त दुखेको रहेछ । रिकेश एक्दमै बिगरेको केटो हो रे । केटी र रक्सी भयो भने सबै पुग्छ रे । जस्तो भएपनि रिकेश मेरो मिल्ने साथी हो भनेर उस्ले गर्वको साथ भन्छ ।

कुरा सुन्दै जाँदा रिजन निकै सोझो केटा जो जस्तो महसुस भयो । अहिले सम्म केटी साथीहरु नभएको कुरा उस्ले बतायो । सानोमा उसको शिक्षा नाम गरेकी केटी साथी थियो रे । उसको दाई Food poisonले गर्दा मर्यो रे । त्यो घटनाले गर्दा शिक्षा निकै दुःखमा परेकी थिइ । पछि आफ्नो परिवारसँग बसाई सरेर गई । कता छे के गरी रहेकी छे, उस्लाई केही थाहा छैन रे । यता बुबा सानोमा बितेको भएर उसले पैसाको महत्व बुझ्दै थियो । आमाले दुःख गरेर नै भए पनि प्राइवेट स्कुलमा पढाइरह्नु भएको थियो । तर उसलाई शिक्षाको कुराले निकै स्ताइरहेको थियो । स्कुलमा आर्थिक कारण देखाएर कक्षा ६ मा उस्ले पढाइ छोडयो । आर्थिक कारणले भन्दा पनि उसलाई शिक्षासँग छुट्नु परेको कारणले पढ्नु मन नै थिएन । यो कुरा अहिले सम्म कसैलाई भने आँट नगरेको भन्छ रिजन ।

आहिले ऊ उमेश नाम गरेको मान्छेको लागी Aluminum को ढोका बनाउँने र जोड्ने काम गर्छ । ठुलो ठुलो महलहरुमा बाहिरबाट देखिने सिसाहरुपनि उसले लगाउँने गर्छ रे । यो काम निकै जोखिमपूर्ण हुन्छ रे । हातमा सँधै सिसाहरु बिझ्ने गर्छन् । रगत आउँछ । त्यो बेला औषधी उपचार गर्न नमिल्न सक्छ भनेर ऊ सँधै रुमाल चाहीँ बोकेर हिड्छ । एक चोटी त सँगै काम गरेको साथी दुई तला माथिबाट खसेको कुरा उसले बतायो । एक जना दाईले त्यो साथीलाई मोटरसाइकलमा हालेर आस्पताल लगे र बचाँए रे । “कति को सन्तुष्ट छौ त आफ्नो काम प्रति ? ” भनेर सोधेको थिएँ । साथीहरुसँग भए भने उसले रात दिन पनि काम गर्दिन्छु भन्छ । मलाई काम गर्न एक्दमै मन पर्छ भन्यो । काम गर्दा मर्केको हात देखाएर हास्दैँ भन्छ, “ रिजनले भन्यो चोट भएन भने जिन्दगीमा बाँच्नुको मजा आउँदैन दाई  । मैले पनि Cliff चढ्दा लडेर बनाएको घाऊँ देखाए र दुईजना मजाले हास्यौ ।

माओवादीको जनयुद्धको बेलामा उसलाई आमाले इन्डिया पठाइदिनु भएको थियो । बुबा त छैन त पनि मरिस् भने म बाँच्न सक्दिनन् भनेर आमाले जबर्जस्ती एक जना दाईसँग इन्डिया पठाउँनु भएको रहेछ। उ त्यो बेला १४ वर्षको थियो रे । इन्डिया गएर पेट्रोल पम्पमा उसले केहि वर्ष तेल हाल्ने काम गर्यो । कालो भएर अरुले इन्डियन भन्यो भनेर ऊ फेरि घर फ्रकियो रे । त्यसपछि ऊ भैरहवा आएर रक्सीको डिलरमा काम गर्यो । रक्सी बेच्ने क्रममा उ आर्मी देखि शसस्त्रको बेरेकमा नि गयो । आर्मीका केही मान्छेहरुले उस्लाई राम्रोसँग चिन्न थाली सकेका थिए । कतिले यतै काम गर भन्थे । त्यो प्रस्ताव राख्दा उस्ले “ म मेरो आमा बाँचेको देखन चाहन्छु “ भन्थ्यो । रक्सी बेच्ने एकजना दाईले भन्नुहुन्थयो , “ रिजन त ढूङाको मन लिएर काम गर । र आफ्नो जिन्दगी (मुटु) हातमा लिएर हिँड।“ यो कुराले उसलाई निकै प्ररेणा दिन्छ । त्यो भने पछि “मुटु माग्यो तिमीले मैले बाँच्नु पर्छ” गित पनि गायो ।

स्कुल छुटेर खेल पनि खेल्न छुट्यो भनेर रिजनले निराशा भएर भन्यो । “ कुन कुन खेल मन पर्छ? भनेर सोधे । ‘मलाई क्रिकेट, चेस, केरमबोर्ड र लुडो एक्दमै मन पर्छ।  क्रिकेटले हामीले समुहमा काम गर्न सिकाउँछ, चेस राजनिती जस्तै हो , केरमबोर्ड बन्दुकको Trigger जस्तै हो रे र लुडोमा आफु बाँच्न सिकाउँछ रे ।“ म कुरा सुनेर आश्चर्य चकित भए । “सरहरुले त स्कुल नछोड भन्नु हुन्थ्यो तर के गर्नु मनले मानेन । मैले आफ्नो खुट्टामा आफैले बन्चरो हानेँ । कक्षामा हल्ला गरेर बस्थेँ । सरले चुप लागेर बस आफ्नो मुटुको धङकन पनि सुनिन्छ भन्नुहुन्थयो । आज पढेको भए आझै राम्रो गर्न सक्थे ।“ यो भनेर निकै उदास भयो । मलाई बेकार सोधेको वा बोलेको जस्तो लाग्न थाल्यो । निको भइसकेको घाँउ कोट्याए जस्तो लाग्यो । मनमा एक किसिक्मको उदासीपन छायो ।

त्यसपछि म शान्त हुन चुप लागेर बाहिर हेर्न थाले । बाहिर अध्याँरो थियो । पहाडहरुको घरमा बत्तीहरु बलेको देखिन्थियो । एकछिन पछि रिजनले मेरो बारेमा सोध्न थाल्यो । म शिक्षक हो भनेको थाहा पाउँदा एकछिन त बोल्न सकेन । शिक्षक हो भनेर पत्ताउँन उसलाई समय लाग्यो । अनि भन्न थाल्यो ,” मैले आजसम्म यस्तो पढेको मान्छेसँग यसरी कुरा गरेको थिइन ।“ गाडीले खाना खानालाई बस रोक्यो । अगि देखि दाई भनिरहेको मान्छेले अब सर भन्न थाल्यो । उसले भन्यो “ सर म हजुरलाई कफी खुवाउँछ मेरो पैसाले हिड्नुहोस ।“ मैले नाइ भन्न सकिन्न । कफीको साट्टा मलाई रियल खुवायो । ऊ चाहिँ चुरोट र रियल खादैँ थियो । सर तपाई चाहिँ चुरोट नखान्नुस है भन्यो । मलाई चुरोट छोडेकोमा सन्तुष्टि लाग्यो । तपाईले त सबैलाई राम्रो काम गर भनेर सिकाउँनु छ । नखान्नुस है भनेर अन्तर मनदेखि बिन्ती गरेको महसुस भयो । मैले खाँदिन भने ।

रियल खाँदै मैले भने ,” तिम्रो नाम अनौठो छ ?” “नाम सुनाउँदा कति मान्छे हाँस्छन् । अँ अलिक अनौठो नै छ । रिजन भनेको नेपालीमा कारण हो । तपाईलाई थाहा छ बाँच्नु कारण के हो । “ रिजनले सोध्यो । “ थाहा छैन” भने । “मर्नु नै बाँच्नुको कारण हो । मैले मेरो कति साथीहरु आँखा आगाडी मरेको देखेको छु । जिन्दीगीमा बाँच्नुको कारण मर्नु नै हो । तर, मर्नु छ भन्दैमा आत्महत्या चाहिँ गर्दिन सर । म कायर होइन “ भन्यो । जिन्दगी संघर्ष हो सर, घुम्तीहरु कट्दै जानुपर्छ, हिड्दा हिड्दा काँडा बिज्छ पनि होला, त्यो निकाल्दै अघि बढ्नु पर्छ , खोला जस्तै । उस्ले थप्दै गयो । आमा Paralysis को बिरामी हुन्नुहुन्छ । मेरो आमा एक्लै छिन्। अब बिहे गरे आमालाई साथी छोड्दिनु पर्छ । मलाई आमाको अनुहार उज्यालो हुनु भन्दा आगाडी देखनु छ सर । त्यसपछि गाडी फेरी हिड्न थाल्यो ।

“रिजन तिमी एक्दमै गहन कुरा गर्ने मान्छे लाग्यो । किताबहरु पढ्ने बानी छ कि छैन भनेर सोधे ।“ “ नेपाली पढ्न चाहीँ आउँछ तर कुनै किताब पढेको चाहीँ छैन सर। कुन किताब पढ्ने थाहा नै छैन सर । मेरो झोलाबाट मैले पढ्दै गरेको किताब म्याक्सिम गोर्कीको ,” मैरो विश्वबिद्यालय” भन्ने किताब उसलाई उपहार दिए । किताब पाएर निकै खुसी भयो । यो किताबको पात्र र तिम्रो कथाहरु  मिल्न सक्छ पढेर हेर्नु है भनेर उसलाई मेरो नाम ,फोन नम्बर र मिती लेखेर दिएँ । अरु किताबहरु चाहियो भने फोन गर्नु नि भने ।

किताब लिइसके पछि भन्यो, ”सर, तपाईलाई थाहा छ मेरो बुबाको दुर्घटनामा परेर मृत्यु भएको होइन नि। मेरो बुबालाई मारेको हो । मेरो बुबा बेनीको गाँउमा शिक्षक हुनुहुन्थयो । पछि नेपाल बैँकमा जागिर पाएर भैरहवा सर्नु भयो । एकदिन बाबा बाटोमा हिडेको बेला साइकलमा आएका दुईजना केटाहरुले हानेछन । बाबाले यत्रो ठुलो भएर राम्रोसँग चलाउँनु पर्दैन भनेर सम्झाउँदा उनीहरु पछि रिस पोख्न खुकुरीले हानेर मारेको कुरा बतायो । अहिले एकजना विदेशमा छ । अर्कोले घर आएर माफी माग्यो । मेरो मनको कुरा यही हो सर। मेरी आमा एक्लै छिन्। तपाई मेरो जिन्दगीको लागी दाई होइन सर नै रही रहनु हुनैछ। म तपाईको लागि एउटा सानो Aluminum को झ्याल बनाएर दिन्छु सर । काठमाडौँमा भेट्नुहोस है मलाई ।“

फोनमा सम्पर्क रहिरहनु होला समय मिलाएर म भेट्ने छु भन्दै नयाँ सालको शुभकामना दिदैँ म रिजनसँग बिदा भए र चितवनमा राती १:०० बजे आइपुगे ।

यो कथासँग सुरु भयो मेरो २०७२ साल । उसको कथाले मलाई शिक्षकको महत्तव बुझायो । जिन्दगी यात्रा नै हो जस्तो लाग्यो । सबैजना आफन्त हुँदैन तर सबै पराई आफन्त हुँदैन भन्ने चाहीँ होइन । रिजनले मलाई संघर्षको र भोगाइका कथा सुनाएर गयो। मलाई यो शैक्षिक अभियानमा काम गर्ने प्रोत्साहन दिएर गयो । विजय, तिमी ठिक थियौ। संसारमा साँच्चैनै सुन्ने मान्छेको कमी रहेछ । अरुलाई सुनेर मैले प्ररेणा पाए । जिवनका भोगाइहरु बुझ्ने मौका पाएँ ।


Shiv Kandel

26 Blog posts


Comments